काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इतिहासकै सर्वाधिक मूल्य पाउने खेलाडी बनेका छ्न्। स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारु रकमको बोली लगाएको हो ।
दुबईमा जारी आइपिएल अक्सनमा स्टार्कको आधार मूल्य २ करोड भारु थियो। सुरुमा उनलाई दिल्ली क्यापिटल्स बोली लगाएको थियो। त्यसपछि मुम्बई इन्डियन्ससँगै कोलकता नाइटराइडर्स पनि अक्सनमा उत्रिएको थियो।
अन्तिममा गुजरात र कोलकताबीचको भिडन्तमा स्टार्कलाई कोलकताले भित्र्याउन सफल भयो। उनी २४ करोड ७५ लाख भारुमा कोलकतामा भित्रिएका हुन्।
यसअघि आजै अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारूमा भित्र्याएको थियो।अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा आबद्ध गरेको थियो।
त्यस्तै आइपिएल अक्सन इतिहासमा सर्वाधिक मूल्य पाउने तेस्रो स्थानमा इंग्ल्यान्डका अलराउन्डर साम करनलाई २०२३ को अक्सनमा पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो ।
चौथो स्थानमा अष्ट्रेलिया ब्याटिङ अलराउन्डर क्यामरन ग्रीन छन् । उनलाई २०२३ को अक्सनमा मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै अलराउन्डर बेन स्टोक्सलाई २०२३ को अक्सनमा चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख खर्चेको थियो ।
त्यसैगरी दक्षिण अफ्रिकाका तीव्र गतिका बलर क्रिस मोरिसलाई २०२१ को अक्सनमा राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा किनेको थियो ।