प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नेपाल अपराजित रहदै सेमिफाइनलमा, फाइनल प्रवेशका लागि कुवेतसंग भिड्ने

२०८० बैशाख १४, बिहीबार १२:४६ बजे

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’को अन्तिम खेलमा बिहीबार नेपालले कतारलाई र समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई हराएपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनेको छ । नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको हो।  नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।

मुलपानी मैदानमा बिहीबारनै भएको समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले हरायो । जितका लागि दुई सय ७३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन मात्र बनाउन सक्यो । यसअघि कुवेतले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७२ रन बनाएको थियो ।

जितसँगै कुवेतले चारखेलबाट ६ अङ्क बनायो । उपविजेता युएईले ६ अङ्क जोडेको छ । कुवेतसँग हारेसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स ९युएई०ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।