प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रायो सागमा अत्यधिक विषादी भेटियो

२०८२ असार २४, मंगलबार १९:०१ बजे

काठमाडौँ। काठमाडौँ भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी रहेको पाइएको छ।

भक्तपुरबाट कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो सागमा विषादी भेटिएको हो। 

केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गर्दा उक्त रायो सागमा ८२.७८२३ प्रतिशत ‘कार्वामेट’ नामक विषादी रहेका पुष्टि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रयोगशालाको टोलीले कालीमाटी तरकारी बजारका १७ पसलमा तरकारी तथा फलफूल परीक्षण गर्दा रायो सागमा विषादीको मात्रा धेरै भेटिएको जनाएको छ।

कालिमाटीमा आज प्रतिकेजी १०० देखि १८० रुपैयाँ तोकिएको रायो सागमा कार्वामेटको मात्रा धेरै भेटिएपछि उपभोगका लागि अयोग्य रहेको प्रयोगशालाले जनाएको छ।

यसअघि गत जेठमा काभ्रेबाट भित्रिएको हरियो धनियाँमा ९९.३७९ रोकावट प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो। 

यस्तैगरी धरानको कृषि उपज बजारमा मकवानपुरको पालुङबाट लगिएको काउली, सर्लाहीमा उत्पादित बोडीसँगै गोलभेँडामा पनि अत्यधिक विषादी रहेको पुष्टि भएको थियो। 

आज परीक्षण गरिएका १७ थरी तरकारी तथा फलफूलमा भक्तपुरबाट संकलन गरिएको रायो सागबाहेक अरू उपभोग योग्य रहेको प्रयोगशालाले जनाएको छ। 

कालीमाटी बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ।

यो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ।