प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

‘वन वे’ को नाममा नौटंकी ? हेटौंडाको अजरअमर सडकमा ‘वन वे’ उल्लंघन, ट्राफिक व्यवस्थापन संकटमा

२०८२ असार १७, मंगलबार १८:२८ बजे
हेटौंडा । हेटौंडाको अति व्यस्त अजरअमर सडक, जुन केही समयअघि ‘एकतर्फी मार्ग’ (वन वे) घोषणा गरिएको थियो, त्यसको नियमलाई बेवास्ता गर्दै दैनिक रुपमा सवारी आवतजावत भइरहेको छ ।
 
सवारी आवतजावतले ट्राफिक व्यवस्थामा समस्या उत्पन्न गरिरहेको छ। विशेषगरी ३ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधनहरुले नियम तोड्दै दुवैतर्फ गाडी चलाउने क्रम बढ्दै गएको छ। हेटौंडाको अजरअमर मार्ग नगरको मुटु मानिन्छ ।
 
अजरअमर मार्ग हेटौंडा नगरको मुख्य व्यापारिक र प्रशासनिक केन्द्र हो। जहाँ दिनभर हजारौं सवारी साधनको चाप हुन्छ। सडक साँघुरो, दुवै किनारमा पार्किङ, र पैदलयात्रीको बाक्लो आवागमनका कारण यो क्षेत्र संवेदनशील यातायात नक्सामा पर्छ।
 
नगरपालिकाले केही समयअघि उक्त सडकलाई ‘एकतर्फी मार्ग’ घोषणा गरेको थियो, जसले सवारी व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको थियो। तर व्यवहारमा त्यो अपेक्षा पुरा हुन सकेको छैन।
 
बिहान बेलुका व्यस्त समयमा, विशेष गरी स्कूल र अफिसको समय छेउछाउ, मोटरसाइकल, स्कुटर, अटो रिक्सा, टेम्पो जस्ता सवारी साधनहरू दुवै दिशाबाट चलिरहेका देखिन्छन् ।
 
ट्राफिक प्रहरीले बारम्बार चेतावनी दिइरहे पनि कारवाहीको डर नराख्ने केही चालकले नियमतः उल्टो दिशाबाट गाडी हाँक्ने क्रम नरोकिएको ट्राफिक प्रहरीको भनाइ छ।
 
ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार बारम्बार सूचना, साइन बोर्ड र ट्राफिक जवान खटाइए पनि चालकहरु नियमको पालना नगर्ने,चिट कात्दा पनि अटेरी गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भैरहेको छ ।
 
"नियम उल्लंघन गर्नेहरूमाथि जरिवाना तथा सचेतना अभियान चलाइरहेका छौं, तर धेरै चालकले नियमलाई गम्भीर रुपमा लिंदैनन्,"  मकवानपुरका ट्राफिक प्रहरी प्रमुख बच्चुराम फुयालले बताए । स्थानीय व्यवसायी र पैदल यात्रुहरू पनि यो अराजक अवस्थाबाट हैरान भएका छन् ।
 
"सडक साँघुरो छ, वन वे हुँदा केही सहज थियो, तर उल्टो दिशाबाट आउने गाडीले झनै जोखिम बढेको छ," स्थानीय नागरिक रमेश थापाले गुनासो गरे ।
 
सडकको दुबै छेउमा अनियन्त्रित पार्किङ, पैदल यात्रुको भीड, र ट्राफिक नियमको पालनामा लापरबाहीका कारण दुर्घटनाको सम्भावना समेत बढेको छ। यसले साइकल चालक र वृद्ध पैदलयात्रीका लागि अझ जोखिमपूर्ण अवस्था सिर्जना गरेको छ।
 
यातायात व्यवस्थापनमा सुधार ल्याउन स्थानीय प्रशासन, ट्राफिक प्रहरी र सवारी चालकबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।