काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।
निगमले पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास(खाना पकाउने ग्यास) प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको निगमले जनाएको छ ।
