प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रेशम चौधरीको उम्मेदवारी रद्द, अब उनको बुवा चुनाव लड्ने

२०७९ आश्विन २६, बुधबार ०६:४० बजे

काठमाडौं – प्रतिनिधिसभा बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी रद्द भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको हो ।

तर, बर्दिया क्षेत्र नम्बर २ बाट उनको बुवा चुनाव लड्ने भएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए । रेशम चौधरीकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अब बर्दिया क्षेत्र नम्बर २ मा रेशम चौधरीका बुवा निर्वाचन लड्ने एक सञ्चारमाध्यमलाई जानकारी दिएकी छन् ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा १३ को उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थाबमोजिम र सोही ऐनको दफा २३ को मनोनयनपत्र बदर हुने व्यवस्थाबमोजिम चौधरीको उम्मेदवारीको मनोनयनपत्र खारेज गरिएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।

उम्मेदवार चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्‍याई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको र उच्च अदालतले पनि सो फैसलालाई सदर गरेपछि कारगार कार्यालय डिल्लिबजारमा कैद भुक्तानको क्रममा रहेको जानकारी गराइएको छ । चौधरी अहिले ज्यान मार्ने उद्योगमा सजाय पाएर जेलमा छन् ।

बर्दिया क्षेत्र नम्बर २ का उम्मेदवारका नामावली