प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमतीको बजेट सच्याउन प्रमुख प्रतिपक्षी दलको माग

२०८२ असार १९, बिहीबार २१:०६ बजे

हेटौंडा : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेट सच्याउनुपर्ने बताएका छन्।

बिहीवार प्रदेशसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेटमाथि छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता जम्मकट्टेलले बजेट सच्याउनुपर्ने बताएका हुन्।

‘यो बजेट सच्याउनुपर्छ। यो बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति विश्वास जगाउनुपर्छ’‚ उनले भने,  ‘त्यस कारणले हामी सरकारको धारणा सुन्न चाहन्छौँ।’

बागमतीको बजेटको विवाद छरपस्ट देखिएको भन्दै नेता जम्मकट्टेलले हालसम्मकै कमजोर धरातलको बजेट सरकारले प्रस्तुत गरेको आरोप लगाए।

उनले सरकारले दलहरूबीचमा गरेको प्रतिबद्धता पूरा नगरेसम्म सदन चल्न नदिने समेत चेतावनी दिए।

बजेट विवादका कारण पटक पटक रोकिदै आएको बैठक बिहीबार दिउँसो सभामुख भुवनकुमार पाठकको संयोजनमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेको थियो।

बागमती प्रदेशका ६ दलबीच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमतिसँगै बैठक सुरु भएको थियो।

बैठकले बजेटलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले आवश्यक काम गर्ने गरी लिखित सहमति गरिएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले जानकारी दिए।

उनका अनुसार सरकारले बजेटमा भएका कमीकमजोरी सुधार गर्दै टुक्रे योजनालाई समेत व्यवस्थापन गर्ने गरी सहमति गरेको छ। बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले सहित प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी सहभागी थिए।

यसअघि बिहान दिउँसो ११ बजेका लागि बोलाएको बैठक २ बजेका लागि सारिएको थियो। २ बजे पनि बैठक बस्न नसकेपछि पूर्ण सूचना टाँस गरेर ५ बजेका लागि बैठक सारिएको थियो।

बजेटमाथिको विवादका कारण प्रदेशसभा बैठक गत असार १२ गतेदेखि प्रभावित बन्दै आएको छ।