प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यू–१६ साइकल दौडमा आयुस दास प्रथम

२०८० चैत्र २४, शनिबार २०:५९ बजे

हेटौंडा – हेटौंडामा पहिलो पटक १६ वर्ष मुनिका साइकल चालकबीच भएको प्रतियोगितामा आयुस दास प्रथम भएका छन् । २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै दास प्रथम भएका हुन् । उनले पौने ३ किलोमिटरको दुरी ५ मिनेट २७ सेकेन्डमा पार गरे ।

हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा शनिवार विहान हेटौंडा–४ हुप्रचौर परिसरमा भएको प्रतियोगितामा ५ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै अनमोल दास द्वितीय, ५ मिनेट ४७ सेकेन्डमा रिजन फुँयाल तृतीय भए ।

त्यस्तै प्रतियोगितामा ५ मिनेट ४८ सेकेन्डमा दुरी पारगर्दै बरुण श्रेष्ठ चौथो, ५ मिनेट ४९ सेकेन्डमा सोहन अग्रवाल पाँचौँ भए । प्रतियोगितामा साइष्टु घिमिरे र गरिमा गौतमलाई महिला सहभागिताका लागि प्रमाणपत्र प्रदान गर्दै हौसला प्रदान गरिएको थियो ।

प्रतियोगिताका बिजेता प्रथमले ५ हजार रुपैयाँ, द्वितीयले ३ हजार रुपैयाँ र तृतीयले २ हजार रुपैयाँ नगद पाए । नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेले विजयीहरुलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरे ।

प्रतियोगितामा मकवानपुरभित्र स्थायी बसोबास गर्ने, १० वर्षदेखि १६ वर्ष उमेरसमूहका २६ बालबालिका सहभागि भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरका उपाध्यक्ष राजु थापामगरले जानकारी दिए ।

स्वास्थ्य र पर्यावरणका लागि साइकल प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । सोसाइटीले संयोजन गरेर रसुवागढी (तिब्बतको केरुङ नाका) देखि पर्साको ठोरी नाकासम्म १० जनाले उत्तरदक्षिण साइकलयात्रा, १३ जनाको सहमागितामा मेची–महाकाली साइकलयात्रा सम्पन्न गरिसकेको छ ।

सोसाइटीले हरेक वर्ष कोरा च्यालेन्ज, हरेक शनिबार फन राइड (साइकलयात्रा) गर्दै आएको छ । सोसाइटीको स्थापना भएको ३ वर्ष भएको छ ।