काठमाडौँ – सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ ।
एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले बताए ।
घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।