प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सट्टाबाजी गराउने कार्यमा संलग्न सुजन पक्राउ

२०७९ पौष १, शुक्रबार ०६:०९ बजे

काठमाडौं – बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराएर रकम संकलन गर्ने गराउने कार्यमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । लमजुङ सुन्दरबजार नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टाबाजी गराएर रकम संलग्न गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका–२८ कमलपोखरीबाट पक्राउ गरेको हो ।

उनले वन एक्स बेटमा एजेन्टको रूपमा कार्य गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा वन एक्स बेटको खाता खोली कारोबार गर्ने गरेको र इसेवा, आएमई पेए र खलती एप्स तथा विभिन्न बैंकिङ प्रणाली मार्फत २ करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँ ३ पैसा तथा अन्य विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ २ पैसा बराबरको करोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।