काठमाडौँ – काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गोली लागी घाइतेको मृत्यु भएको छ। गोली लागेर सर्लाही गोडैता नगरपालिकाका मोहम्मद दर्जीको मृत्यु भएको हो।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार उनी गार्मेन्ट सञ्चालक हुन् । सोमबार साँझ मोटरसाइकल चढेर आएका बन्दुकधारी समूहले मोहम्मदमाथि गोली प्रहार गरेका थिए । उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ ।
मोहम्मद १० वर्ष जेल परेर रिहा भएको व्यक्ति भएको समेत खुलेको छ । अनलाइनखबरका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका थिए । १० वर्ष जेल बसेका उनी करिव ३ वर्षअघि मात्र थुनामुक्त भएका थिए ।
गोलीकाण्ड पुरानो घटनासँग जोडिएको हुनसक्ने प्रहरीको आशंका छ । उनले तीन दिनअघि मात्र सुरक्षा माग गर्दै जम्बुडाँडा प्रहरी चौकीमा निवेदन दिएका थिए । पीडित परिवारले भने प्रहरीले गम्भीर रुपमा नलिएका कारण घटना भएको गुनासो गरेको छ ।