प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

छुट्टाछुटै स्थानमा भएको घटनामा तीनको मृत्यु

२०७९ श्रावण २३, सोमबार ०४:०३ बजे

हेटौंडा – तीन छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बर्दिया, सप्तरी र झापामा एक–एक जनाको मृत्यु भएको हो ।

बर्दियाको मधुवन नगरपालिका ४ मख्खन चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना भने घाइते भएका छन् । भे १२ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार मधुवन नगरपालिका ४ बेलुवाकी २७ वर्षीया सोनिया थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी थारुको उपचारको क्रममा गुलरीया स्थित बर्दिया अस्पतालमा राती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई भने थप उपचारको लागि बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ ।

त्यस्तै सप्तरीको रुपनी गाउँपालिका २ पिप्राही चोकमा हिजो बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा ८५ प ६१ ९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स २ प ८१६७ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ८१ ६७ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भूनाथ नगरपालिका ३ का २५ वर्षीय बिकी चौधरीको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो । ६१९६ नम्बरको मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापाको बुद्धशान्ति गाँउपालिका २ रबर बगानमा पनि आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । जयपुरबाट शनिश्चरे तर्फबाट जाँदै गरेको प्रदेश १–०१०१५ प २५३४ नम्बरको मोटरसाइकल हिजो साँझ ५ बजे अनियन्त्रित भएर पल्टिएको थियो । मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका ७ की ६२ बर्षीया लक्ष्मीमाया कार्की रहेकी छिन् । विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा साँझ साढे ५ बजे कार्कीको मृत्यु भएको हो । लक्ष्मीमायाका छोरा तथा मोटरसाइकल चालक प्रहरीको सम्पर्कमा रहेका छन् ।