हेटौंडा – मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–५ सिचाई टोल बस्ने ३१ वर्षीय धर्मेन्द्र खेम्कालाई नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय १६ पिस र अनरेक्स १४ बोतल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा भिमफेदी गाउँपालिका घर भई हेटौंडा उपमहानगरपालिका–५ सिचाई टोल बस्ने ३० वर्षीय प्रमोद कार्की र सोही ठाउँ बस्ने २६ वर्षीय रबिन श्रेष्ठलाई उनीहरूकै कोठाबाट नाईट्रोभेट १ हजार ५ सय ४५ पिस र अनरेक्स ६३ बोत्तल सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
त्यस्तै मकवानपुर प्रहरीले भिमफेदी गाउँपालिका–२ भैसेबाट १६० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२४ बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् ।
बिहीबार बिहान नामटारबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च ६८ नंबरको कारलाई चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका गुरुङमाथि थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।