प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मारेर बोरामा फालेका दुई शवको पहिचान खुल्यो

२०८० पौष २४, मंगलबार ०७:४७ बजे

हेटौंडा – गत मङ्सिर ६ गते चितवनको भरतपुर महानगरपालिका–१२ मिलन चोकको सडक कल्भर्टमुनि बोराभित्र भेटिएका पुरुष र महिलाको शवको पहिचान खुलेको छ । ऋषभकुमार कुशवाहा र सन्जु देवीको रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । मृतक दुवै जना भारतीय हुन् ।

दुबै जनालाई हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्टमुनि फालिएको अवस्थामा शव भेटिएको थियो । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको सीआईबीले जनाएको छ ।

मृतक नागरिक भारत मोतिहारी घर भएका र चितवनको भरतपुरमा व्यापार गर्दै बसेका थिए । उनीहरू अन्तिम पटक गएको दशैँपछि नेपाल आई चितवनको मिलन चोकमा रहेको ऋषभकुमारको काका नाता पर्नेको कोठा नजिकै कोठा भाडा लिई बस्दै आएका प्रहरीले जनाएको छ ।शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

ऋषभकुमार र सन्जुको बीचमा सम्बन्ध रहेको शङ्का गरी सन्जुका श्रीमान् भारतीय अखिलेश भगतले झगडा गर्दै आएका थिए । यही क्रममा गएको मङ्सिर २ गते अलिखेशले कोठामै पुगेर दुवै जनाको हत्या गरेर मङ्सिर १६ गते भारततर्फ भागेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीसँग समन्वय गरी खोजीकै क्रममा अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता भई अनुसन्धानका लागि केन्द्रीय कारागार मोतीहारीमा राखिएको अवस्थामा भेटिएको सीआईबीले जनाएको छ । सोधपुछकै क्रममा उनले भतिजा नाता पर्ने ऋषभकुमार कुशवाहा र श्रीमती सन्जु देवीको हत्या गरेर भारत आएको भन्ने स्वीकार गरेको प्रहरीको दाबी छ ।