फेसबुकमा सन्देश छाडेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठको खोजीमा काठमाडौँका विभिन्न प्रहरी युनिटहरू जुटेको छ ।
रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. श्रेष्ठले सोमबार फेसबुकमा सन्देश लेख्दै सम्पर्कविहीन बनेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कार्यालयको टोलीसहित साइबर ब्युरो, काठमाडौँ परिसरलगायतको टोली उनको खोजीमा जुटेको छ ।
डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केको बस्नेतले जानकारी दिए । उनको मोबाइल स्वीच रहे पनि उनको पछिल्लो लोकेसन गोपीकृष्ण हलनजिकै देखिएको थियो । ‘हामीले चाबहिल क्षेत्रमा उनको खोजी गरिरहेका छौँ,’ स्नेतले भने गैँडाकोट घर भएका श्रेष्ठ काठमाडौँको कपनमा बस्दै आएका थिए ।
श्रेष्ठले फेसबुकमा परिवार लगायत आफन्तहरूसँग माफी मागेका छन् । रामेछाप अस्पतालमा आएदेखि नै आफू दिन रात खटिएर अस्पताल कसरी राम्रो बनाउने भनेर लागेको र आफू प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग भएको उनले लेखेका छन् ।
उनले आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप–८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत बताएका छन् ।