काठमाडौं – शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती शुक्रबार विविध कार्यक्रम गरी मनाइँदैछ।
गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो। ‘गुरु ग्रन्थ साहेब’ को रचना गरेका नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गरेका थिए।
नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराउने परम्परा छ। यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम गरिन्छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे।
गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानवमात्रको कल्याण गर्ने जीवन सूत्रहरु दिनुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले गुरुनानकको उपदेशले सत्य, आत्मज्ञान र मानवताप्रति सदैव समर्पित हुने शिक्षा प्रदान गर्ने बताए ।