प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्राभल कम्पनीको युजर ह्याक दुई करोड बराबरको हवाई टिकट काटिदिएपछि...

२०८० मंसिर ८, शुक्रबार ०७:२२ बजे

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ट्राभल्स कम्पनीको यूजर आइडी सिस्टम नै ह्याक गरी दुई करोड ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।  उनी मर्स्याङ्दी ट्राभल्स कम्पनीका म्यानेजर समेत हुन्।

उनले काठमाडौंको बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रालिको युजर आइडी पोर्टल ह्याक गरेको एसपी अधिकारीले बताए। कात्तिक १८ गतेदेखि मंसिर २ गतेभित्र उनले उक्त पोर्टलमार्फत जजिरा एयरलाइन्स र एयर अरबियाको ३३७ जना विभिन्न व्यक्तिहरूको नाममा टिकट बनाएका थिए।

एक करोड ९९ लाख ८२ हजार ९२४ बराबरको हवाई टिकट काटेर उक्त टिकट बराबरको रकम यात्रीहरूबाट लिएर जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सलाई ठगी गरेको प्रहरीले जनाएको छ। यसरी ठगी भएको भन्दै ब्युरोमा उजुरी परेपछि प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो। बुधबार पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।