प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रविलाई कसैको दबाब वा आग्रहमा होइन्, अनुसन्धान गर्ने निकायबाट प्रक्रियागत रुपमा पक्राउ गरिएको हो: प्रधानमन्त्री

२०८१ कार्तिक ६, मंगलबार ०८:४१ बजे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमितका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागत रुपमा पक्राउ गरिएको बताए ।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो,’ उनले भने ।

‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानासाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन’ उनले भने ।