हेटौंडा – क्यामरुनी टोली एभिनियर एफसी हेटौंडामा जारी पाँचौ स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार भएको खेलमा एभिनियरले वीरगञ्ज युनाईटेडलाई २–० गोलले पराजित गरेको हो ।एभिनियरको जितमा यानिक ओना र सावाले एक–एक गोल गरे ।
प्रतिस्पर्धात्क खेलमा पहिलो हाफमै एभिनियरले अग्रता बनाएको थियो । एभिनियरका यानिकले खेलको ३९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रोमा हाफमा खेलको ७० औँ मिनेटमा एभिनियर अग्रता दोब्बर बनाएको थियो । एभिनियरका लागि दोस्रो गोल सावाले गरेका थिए ।
खेलको म्यानअफ द म्याच वीरगञ्ज युनाईटेडका उमेश कार्की घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
जितसंगै सेमिफाइनलमा प्रवेश गरेको एभिनियरले फाइनल प्रवेशका लागि हिमालयन शेर्पा र फ्रेण्डस् क्लबबीचको विजेतासंग सामना गर्नेछ । शेर्पा र फ्रेण्डस क्लबको खेल फागुन ६ गते हुनेछ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र शसस्त्र प्रहरी बल(एपिएफ)क्लबबीच हुनेछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
तस्वीरः दिक्ष्यान्त खड्का