हेटौंडा। पछिल्ला वर्षहरूमा मकवानपुर जिल्लामा कृषिमा यान्त्रीकरणको प्रयोग तीव्र रूपमा बढेको छ । आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूलाई समय, श्रम र लागतको बचत गराउनुका साथै उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
हेटौंडा उपमहानगरपालिका, बकैया, राक्सिराङ, मनहरी, थाहा नगर र मकवानपुरगढी गाउँपालिकाका सयौं कृषकहरूले चालु आर्थिक वर्षमा ट्रेक्टर, थ्रेसर, मिनी टिलर, मल छर्ने मेसिन, पानी तान्ने मोटरजस्ता आधुनिक उपकरणहरू प्रयोग गर्न थालेका छन्। स्थानीय सरकार तथा बागमती प्रदेश सरकारका कृषि कार्यालयहरूको सहयोगमा यान्त्रीकरण विस्तार भएको हो।
मकवानपुरगढीका कृषक नरबहादुर मोक्तानले यस वर्ष पहिलो पटक मिनी टिलर प्रयोग गरेर धान रोपेका छन्। “अघिसम्म गोरु नै एक्लो साधन थियो, अहिले टिलरले खेत जोत्न सजिलो भएको छ। एक दिनमा ३ रोपनीसम्म काम सकिन्छ,” उनले भने।
थाहा नगरपालिकामा कृषक समूहमा आधारित यान्त्रिक सेवा केन्द्र समेत स्थापना गरिएको छ, जहाँ दर्जनौ कृषि उपकरणहरू किसानका खेतबारीमा प्रयोगमा ल्याइएको छ। नगरपालिकाले हरेक वर्ष यान्त्रिक उपकरण खरिदमा बजेट छुट्याउँदै आएको र कृषकहरूलाई आवश्यक तालिमसमेत दिइरहेको जनाएको छ।
बागमती प्रदेश सरकारअन्तर्गतको “कृषि यान्त्रीकरण प्रवर्द्धन कार्यक्रम” मार्फत महिला तथा साना किसान समूहलाई विशेष प्राथमिकता दिइएको छ। हेटौंडाकी महिला कृषक सरस्वती लामाले भनिन्, “पहिला खेत जोत्न गार्हो, ढिलो र महँगो थियो, अहिले टिलरले सस्तो, छिटो र सजिलो भएको छ।”
कृषि ज्ञान केन्द्र मकवानपुरका अनुसार यान्त्रीकरणले व्यावसायिक तरकारी खेती, धान तथा मकै उत्पादनमा उल्लेखनीय वृद्धि गरेको छ। खेत जोत्नेदेखि मल राख्ने, सिँचाइ, बिउ छर्ने र भित्र्याउनेसम्मका सबै चरणमा मेसिनको प्रयोगले दक्षता बढाएको छ।
तर यान्त्रीकरणमा पूर्ण रूपान्तरणका लागि अझै केही चुनौतीहरू छन्। उपकरणको मर्मत सुविधा अभाव, पर्याप्त तालिम नहुनु, गाउँगाउँमा उपकरणको पहुँच नपुग्नु र सहुलियत ऋणको कठिन पहुँचजस्ता समस्या कायमै छन् । यद्यपि, सरकार आगामी वर्षहरूमा कृषिमा यान्त्रीकरण प्रवर्द्धन गर्न थप लगानी गर्ने योजना बनाउँदैछ ।