हेटौंडा – स्कुल जाने क्रममा ट्याक्टरबाट खसेर पाँचथरमा दुई दिदी-बहिनीको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाउँपालिकाको भारपामा बालुवा बोकेको मे.१ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीय पुजना सुवेदी र नौ वर्षीय गङ्गा सुवेदी रहेको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
ट्याक्टरमा चढेर विद्यालय जाने क्रममा बुधबार बिहान उनीहरु खसेरका थिए । घाइते भएका स्थानिय बिशाल बराईलीको ११ बर्षीया छोरी रेश्मा बराईली र गणेश अधिकारीको १० बर्षीया छोरी सोनिया अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक कुम्मायक पाँचथरका प्रेम बहादुर कामीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।