काठमाडौं – सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको पाइएको छ। कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको हो ।
उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । उनी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुग्दा शारदा अचेत अवस्थामै फेला परेकी थिइन् । त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्याइएको थियो।
कुटपिटबाट शारदाको शरीरमा निलडामहरू भएको उनले बताए। अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताए। कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शारदाका श्रीमान सन्तोष थापासहित ७ जनालाई पक्राउ गरेको छ ।
आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी शारदाले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन्। त्यही डिभोर्सको प्रक्रिया अघि बढाउन उनी केही दिन अघि मात्रै सिन्धुली पुगेकी थिइन्। कुटपिट गर्ने स्थानीयहरूको रिसिइबी शारदासँग भने देखिन्न। तर उनका श्रीमान सन्तोष र ती स्थानीयहरूबीचको लेनदेनको विवादका कारण शारदामाथि कुटपिट भएको एसपी सिलवालले बताए।
पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।