प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुतिरहेका बेला सर्पले डसेर एक बालकको मृत्यु

२०८० श्रावण २३, मंगलबार ०२:३१ बजे

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाइबाट मृत्यु भएको हो।

नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ।

बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेपछि थाहा पाइएको स्थानीयले बताएका छन्। सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो।

उपचार केन्द्रमा भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर पठाएपछि उपचारको क्रममा बालकको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।