प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गुरुङको हत्या संलग्न ९ जना पक्राउ

२०७९ आश्विन ७, शुक्रबार ०७:३० बजे

हेटौंडा – झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङको हत्या संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरका अनुसार बुधबार बेलुका ५ बजे १०र१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भिर घाइते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रदेशले जनाएको छ ।

घटना सम्वन्धमा तत्काल घटना स्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले उनीहरुलाई बिभिन्न स्थानमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाइकलको दुबै चक्काको टायर काटेर फालेको अबस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्‍ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेका थिए । सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।