काठमाडौं – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–१ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्ल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार सोमबार राति ९ बजेतिर चौधरीले चलाएको से ६ प ६२७९ र मल्लले चलाएको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
मल्लको मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कै २२ वर्षीय दीपक बोहरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
मल्ल दशैं मनाउन काठमाडौँबाट घर फर्किँदै थिए। तर दुर्घटनामा परेर बाटोमै ज्यान गुमाए। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मल्ल र चौधरीलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी बोहराले बताए ।
मृतक दुवैको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।