काठमाडौं – कीर्तिपुरमा गाईजात्रामा महादेवको पात्रमा अभिनय गरेका गोविन्द्र महर्जनको मृत्यु भएको छ । कीर्तिपुरको सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
जात्रामा सबैभन्दा लोकप्रिय पात्रको रूपमा अभिनय गरेका महर्जन आइतबार राति सवा १० बजे बाघ भैरवस्थानमा रहेको द्यःपुखुमा डुबेका थिए । पोखरीमा डुबेका उनलाई निकालेर बल्खुस्थित बयोधा अस्पातल उपचारको लागि लगिएको त्यहाँ मृत घोषणा गरिएको थियो ।
गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको–खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुबेका थिए । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए ।