प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकपले आज नयाँ च्याम्पियन पाउँदै

२०८० माघ २७, शनिबार ०८:५३ बजे

हेटौंडा – हेटौंडामा जारी छैठौं ‘स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप’ प्रतियोगिताको फाइनल खेल आज हुदैछ । फाइनलमा सशस्त्र प्रहरी बल(एपीएफ) र न्यूरोड टीम (एनआरटी) उपाधिका लागि आज भिड्दै छन् । यी दुइै टोलीको खेल हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एपीएफले वागमती युथ क्लब सर्लाहीमाथि ४–० गोलअन्तरको फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनआरटी धनकुटाको राजारानी क्लबलाई सडनडेथमा १७–१६ गोलअन्तरको जीत निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।

यी दुई टोली पहिलो पटक मकवानपुर गोल्डकपको फाइनलमा पुगेको हो । स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताको पहिलो सिजन थ्रिस्टार, देस्रो मकवानपुर–११ तेस्रो र चौथो त्रिभूवन आर्मी क्लब जितेको थियो भने पाँचौं सिजन मनाङ–मर्स्याङ्दी क्लबले जितेको थियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ र १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् ।

तस्बीर गोल हेटौंडा