हेटौंडा – अबिरल वर्षासँगै आएको बाढीले पूर्वी नेपालमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार बाढी पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।
सङ्खुवासभाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको छ भने सुपर हेँवा हाइड्रोमा परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन भएका छन् । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका हुन् ।
त्यस्तै बाढीले पाँचथरको हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता छन् । बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएका हुन् ।
बाढी पहिरोकै कारण सो क्षेत्रमा एक दर्जन भन्दाबढी घर बगाएको छ भने मेची राजमार्ग अवरुद्ध समेत अवरुद्ध भएको छ । बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।