काठमाडौं – डेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको बमले जानकारी दिए ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर दुर्घटना हुँदा बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।
बसचालक पुर्चौँडी नगरपालिका-८ २४ वर्षीय वीरेन्द्र बोहरा, गम्भीर घाइते भएका छन्। पुर्चौँडी-८ का ४२ वर्षीय पदमबहादुर बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं.१० का दामोदर महरा र धनबहादुर महरा घाइते भएका छन्।
यस्तै पुर्चौँडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका-५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउँद पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए।
बस चालक बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।