भक्तपुर - सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेश आचार्यले गरेको खुलेको छ।
पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल खोटाङ जिल्ला हुलाक कार्यालयमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको शनिबार राति हत्या भएको थियो।
हत्या गरेर फरार रहेका रुपेशलाई प्रहरीको टोलीले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो। प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रुपेशले बुबा र भाइबाट आफूलाई तनाव रहेको कारण देखाउँदै हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरीका अनुसार हत्या गरेपछि रुपेशले आइतबार बिहान कोठामा ताल्चा लगाई स्कुटरमा फरार भएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीले घटनाबारे थप अनुसन्धान गर्न रुपेशलाई म्याद थप गरिएको जानकारी दिएका छन्।
गत मंसिर २८ गते बिदा लिएर खोटाङबाट बालकोट आएका कुलप्रसाद आचार्य र उनका दुई छोराबीच व्यक्तिगत विवादले यस्तो घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाबारे थप अनुसन्धान जारी छ।