काठमाडौँ – काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
प्रजिअ बस्नेतका अनुसार भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ । उनले भने,‘काठमाडौँ उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ ।’
काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ ।