प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको कृष्ण मन्दिरमा भक्तजन

२०७९ भाद्र ३, शुक्रबार ०५:०६ बजे

हेटौंडा – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यसैगरी मकवानपुरको एतिहासिक मकवानपुरगढी दरबार (वंशगोपाल मन्दिर), हेटौंडा–५ पिप्ले लगायत जिल्लामा रहेको कृष्ण मन्दिरमा विहानैदेखि दर्शनार्थीको भिड लागेको छ । मकवानपुरगढी दरबारसहित जिल्लाभरका कृष्ण मन्दिरमा पूजाआराधाना गर्ने भक्तहरुको घुइँचो लागेको हो । 

मकवानपुरगढीको दरवार परिसरमा आज ठुलो मेला(जात्रा) समेत लाग्छ । मकवानपुरगढी दरबारको कृष्ण मन्दिरमा दर्शन तथा मेला हेर्नको लागि जिल्लाको दशैपालिका सहित  चितवन, बारा, पर्सा, रौतहट, काठमाडौं, ललितपुर लगायतका जिल्लाहरुबाट मानिसहरु आउने गरेको स्थानीय होटल व्यवसायी अमृत न्यौपान बताउँछन् ।

दरवारको कृष्ण मन्दिरमा दर्शन गर्नेहरुको दिनभर भिड लाग्ने र मेला साँझ सम्म चल्ने न्यौपानले बताए ।दर्शन गर्न आउने भक्तजनको भिड ब्यवस्थापन र सुरक्षाको लागि प्रहरी र स्वयसेवक खटाईएको जनाईएको छ ।

आजको दिन विशेग गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।

भगवान् कृष्ण जन्मेको दिनको रूपमा मनाइने यस दिनमा स–साना बालकहरूलाई कृष्णको वेशमा मन्दिर घुमाउन समेत ल्याइन्छ । कृष्ण जन्माष्टमीको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।