काठमाडौं – मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार नरबहादुर कँडेलको निधन भएको छ । शुक्रबार राति तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा सिमेन्ट घोल्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सैनामैना नगरपालिका–१ का ३५ वर्षीय कँडेलको निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशामा रहेको लु १ क ५२७६ नम्बरको गाडीले ठक्कर दिएको थियो । ठक्करबाट घाइते कँडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कँडेल स्थानीय अनलाइन सञ्चारमाध्यम ग्लोबल आवाज डट कमका प्रधान सम्पादक हुन् । कँडेल सवार मोटरसाइकललाई ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कँडेलका श्रीमती १ छोरा र १ छोरी छन् ।