प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कान्तिलोकपथ बुधबार बिहानदेखि पूर्ण रूपमा सञ्चालन हुने

२०८१ आश्विन २२, मंगलबार १८:१४ बजे

मकवानपुर – असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण अवरूद्ध कान्तिलोकपथ बुधबार बिहानसम्म पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

कान्ति राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधबार बिहानसम्म पूर्ण रूपमा सडक सञ्चालन गरिसक्ने बताए।

उनले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ति राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिज क्षति हुँदा आवतजावतमा समस्या भएको बताए.

बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरू पनि बगाएको बताए। अहिले पुलमा साना सवारीहरू चलाउनसक्ने बनाइएको छ । 

बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए ।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यैदेखि सञ्चालनमा छ ।