प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुग्ध किसानको आन्दोलन स्थगित, यस्ता छन् ५ बुँदे सहमति

२०८० फाल्गुन २०, आईतबार ०८:०४ बजे

हेटौंडा – दुग्ध किसानहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएका छन् । दुग्ध किसानहरुले २१ चैतभित्र सबै बक्यौता रकम पाउने, मिल्क होलिड नहुने लगायत ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पहलमा शनिबार दिउँसो केन्द्रीय दुग्ध सहकारी संघमा आबद्ध किसान प्रतिनिधि, डेरी उद्योगी र सरकारी कर्मचारी सम्मिलित वार्तामा किसानको बक्यौता चाँडै भुक्तानी सुरु गरी २१ चैतसम्म उद्योगीले तिरिसक्ने सहमति भएको हो ।

प्राप्त जानकारी अनुसार दुग्ध कृषकहरुको ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेको छ ।  सहमतीको पहिलो बुँदमै दुग्ध उत्पादक कृषकलाई दुध बिक्री गरेबापत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत ०८० सम्म गरिसक्ने, वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी संघका सदस्य विदुर हुँमागाईले जानकारी दिए । 

प्रत्येक उद्योगले सहकारीबाट खरीद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिड नहुने गरी निरन्तर खरीद गरिरहने सहमती भएको सदस्य हुँमागाईले जानकारी दिए । दुग्ध उद्योगीहरुले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने साथै दूध तथा दुग्ध पदार्थहरुको निर्यात प्रवर्द्धन सम्बन्धी विषयहरु नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने पनि सहमती भएको उनले बताए ।

त्यस्तै नेपाल सरकारले पशुपालक किसानहरुलाई दिईरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले राखेका अन्य मागहरु सम्बोधन गर्न पहल गर्ने पनि सहमती भएको सदस्य हुँमागाईले जानकारी दिए ।

वार्तामा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र पूर्वअध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल तथा पूर्वअध्यक्ष अरनिको राजभण्डारी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी सहभागी थिए ।