प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रधानाध्यापक गोली प्रहार गरी हत्या प्रकरणः मुख्य योजनाकार सहित ५ जना सार्वजनिक

२०८० कार्तिक १५, बुधबार १८:५८ बजे

हेटौंडा – बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका–९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला–१२ बस्ने २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् ।

मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।

उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अंसारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको प्रहरीको दाबी छ ।

साथै भारत मोतिहारी दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी गोली प्रहार गर्न संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।