प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

महिला साफ: सेमिफाइनल खेल हुँदै, दोस्रोमा नेपाल र भारत भिड्दै

२०७९ भाद्र ३१, शुक्रबार ०६:५७ बजे

काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार दुवै सेमिफाइनल खेल हुँदैछन्।

दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा समूह ए को विजेता बंगलादेशले समूह बी को उपविजेता भुटानको सामना गर्नेछ।

यता, दोस्रो सेमिफाइनल खेलमा साफको २५ औं खेलमा पहिलो पटक हार बेहोरेको भारत र नेपाल भिड्ने छ । खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

समूह बी को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो । उता, भारतले समूह ए को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको थियो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३–० को हार व्यहोरेको थियो ।

भुटानले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ भने साफमा पनि पहिलो पटक जित निकालेको छ। उसले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ७–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।