काठमाडौं – राष्ट्रिय सभाको निर्वाचनको मतपरिणाम आएसँगै राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र दोस्रो ठूलो दल नेपाली कांग्रेस भएको छ।
१९ सिटका लागि बिहीबार सातवटै प्रदेशको सदरमुकाममा भएको निर्वाचनमा एक जनाबाहेक १८ जना गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ। निर्वाचनमा नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ तथा जनता समाजवादी पार्टी र एमालेका १र१ जना निर्वाचित भएका छन्।
राष्ट्रिय सभामा यही फागुन २० गते पदावधि सकिएर बिदा हुने सांसद र बिहीबार निर्वाचित सांसदको संख्या हेरफेर हुँदा दलीय समीकरण बदलिएको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित १९ जना सांसदको पदावधि यही फागुन २० गते सकिन लागेकाले ती स्थानको पूर्तिका लागि बिहीबार निर्वाचन भएको हो।
राष्ट्रिय सभामा माओवादीबाट हाल उपाध्यक्ष उर्मिला अर्यालसहित १५ जना रहेकोमा यही फागुन २० गते पदावधि सकिनेमा ती जना रहेका छन्।
भर्खरैको निर्वाचनबाट थप पाँच जना निर्वाचित भएकोमा १७ सदस्यसहित माओवादी केन्द्र राष्ट्रियसभाको सबैभन्दा ठूलो दल बनेको हो । हाल माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो स्थानमा रहेको छ।
त्यसै गरी राष्ट्रिय सभामा हाल नेपाली कांग्रेसका १० जना सांसद रहेकोमा ४ जनाको पदावधि आउँदो फागुन २० गते सकिनेछ। बाँकी रहेको ६ जनामा निर्वाचनबाट थपिएको १० सहित १६ सिट बनाएको कांग्रेस राष्ट्रियसभाको दोस्रो ठूलो दल बनेको छ।
कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमाले आगामी फागुन २१ पछि १० सिटमा सीमित हुनेछ। राष्ट्रियसभामा अध्यक्षसहित एमालेका सांसदको संख्या हाल १८ रहेको छ । राष्ट्रियसभामा हाल एकीकृत समाजवादीका ८ जना सांसद रहेकोमा २ जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ २ जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन।
त्यसै गरी जनता समाजवादी पार्टी (जसपा) का प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदै छ भने एक जना निर्वाचित भएर आएकाले राष्ट्रिय सभामा जसपाको उपस्थिति यथावत् छ।
राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको ठाउँमा जनमोर्चाका दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारीअनुरूप काम भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन्। त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को पनि एक जना सांसद रहेका छन्।नेपाल समाचारपत्रबाट