काठमाडौं – नेकपा एमालेले सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनमा तीन दिन झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
त्यस्तै एमालेले झन्डा आधा झुकाउने अवधिभर औपचारिक कार्यक्रम नगरिने निर्णय समेत गरेको छ। आजको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
नेम्वाङले हरेक भूमिकामा आफूलाई खरो सावित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए। उनका अनुसार शोकमा ३ दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ।
‘पार्टीका सबै औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित भएको छ,’ उनले भने, ‘असोज २ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको छ।’
नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिने उनले बताए। नेम्वाङलाई राजकीय सम्मानसाथ अन्त्येष्टि गरिनेछ। सम्भवत: बिहीबार बिहान नेम्वाङको अन्त्येष्टि गरिने ज्ञवालीले बताए।