हेटौंडा – हुलाकी राजमार्ग अन्तर्गत सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा बुधबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा तीनजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल साँझ सवा ७ बजे आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी प्रादेशीक अस्पताल पुर्याउँदा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको उनले बताए ।
दुर्घटनामा अर्नामा गाउँपालिका–५ का १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन्। उनको थप उपचारका लागि गएराति विराटनगर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।