धनगढी – कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमारामा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेको छ । स्थानीय ४० वर्षीया श्रीराम थारुले आफ्नी आमालाई बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार श्रीरामले मंगलवार ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन् । बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो । लम्कीमा उपचार सम्भव नभएपछि धनगढी ल्याइएकोमा नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
घटनामा संलग्न श्रीरामलाई मंगलबार इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको छ । श्रीरामले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको कैलाली प्रहरी प्रबक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।