सर्लाही – सर्लाहीको फरहदवामा सोमबार साँझ मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। कविलासी नगरपालिका–७ का १९ वर्षीय चन्दन यादवको ज्यान गएको हो।
दुर्घटना हरिपुर नगरपालिका–३, फरहदवास्थित चिरान मिल अगाडि भएको थियो। हरिपुरबाट बालुवा बोकेर गैरतर्फ जाँदै गरेको ज २ त ४५२ नम्बरको ट्याक्टरमा यादवले चलाएको बीआर ०५ एक्यू ८७५९ नम्बरको भारतीय मोटरसाइकल पछाडिबाट ठोक्किएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।
दुर्घटनापछि यादवलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।