काठमाडौं – झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परेर एक भारतीय नागरिकको ज्यान गएको छ । मृत्यु हुनेमा भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ सैनिक मोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारी रहेका छन् ।
बिर्तामोड–भद्रपुर सडक खण्डको बिर्ता बजारमा बिहीबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका पैदल यात्री पानवारीको शुक्रवार बिहान उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बनियानीबाट बिर्ता बजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदल यात्री पानवारिलाई ठक्कर दिएर घाइते बनाएको र उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।
दुर्घटना गराउने चालक सवारी साधन सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।