प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

करिब ५४ केजीको टल्कने ढुङ्गा बरामद

२०८० असार १५, शुक्रबार ०३:५६ बजे

गोरखा – गोरखा प्रहरीले झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट उक्त टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

“‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ”, उनले भने, “ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने देखिएको छ ।”

ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उनले बताए । “एकातिरबाट ‘लाइट’ बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ”, प्रनाउ श्रेष्ठले भने, “अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ ।”

उनले बरामद गरिएको ढुङ्गाका बारेमा भू–गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू–गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिए । बरामद गरिएको ढल्कने ढुङ्गा चोरी गरिएको नभई पुर्ख्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए।