काठमाडौँ – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यस प्रणालीका कारण हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहँदा केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। आइतबार रातिदेखि सुरु भएको बदलीले मंगलबार देशका अधिकांश स्थानमा प्रभाव पारेको थियो।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल घनीभूत भए पनि पानी परिमाण भने न्यून रहेको छ। काठमाडौँ उपत्यकालगायत केही स्थानमा मंगलबार साँझ सामान्य वर्षा भएको थियो। पछिल्लो २४ घण्टामा पश्चिमका डडेलधुरामा ९ मिलिमिटर र दिपायलमा ४ मिलिमिटर वर्षा भएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातसमेत भएको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार आजबाट क्रमिक सुधार देखिए पनि शुक्रबार रातिदेखि अर्को पश्चिमी प्रणाली आउने र यसको मुख्य असर पश्चिम नेपालमा पर्नेछ। यस प्रणालीले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा गराउने अनुमान छ।
तराई र उपत्यकाका केही स्थानमा बिहानको समयमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात, स्वास्थ्य, र हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।