प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राणाकालीन चुरियामाई सुरुङ: १२ सालमा टुट्यो, ८१ सालमा जुट्यो

२०८१ पौष ८, सोमबार २०:०३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको दक्षिण एसियाकै पहिलो मानिएको चुरियामाई सुरुङ मार्ग आज औपचारिक रूपमा हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

सोमबार एक भव्य कार्यक्रम आयोजना गरी बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामालाई सञ्चालनका लागि हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले १०६ वर्ष पुरानो यो ऐतिहासिक सुरुङ मार्गलाई पुनर्निर्माण गरी उपमहानगरलाई हस्तान्तरण गरेको हो ।  विसं.२०७८ मा तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले २०७९ वैशाखसम्म सक्ने योजना सहित पुनःनिर्माणको शिलान्यास गरेका थिए ।

माउन्टेन इन्फ्रा कम्पनीले करिब ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा पुनःनिर्माणको जिम्मा पाएको थियो । कम्पनीले प्राविधिक समस्याका कारण देखाउँदै २०८० जेठमा काम सम्पन्न गरेको थियो । निर्देशनालयले प्राविधिक कारण हस्तान्तरण नहुँदा सुरुङका दुबै ढोका बन्द थिए ।यससंगै सर्वसाधरण नागरिकहरुले सुरुङमा प्रवेश पाउनेछन् ।

चुरियामाई सुरुङको संरक्षणको लागि कार्यविधि बनाएर सञ्चालन गर्नुस्ः मुख्यमन्त्री लामा 

उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्बोधनको क्रममा मुख्यमन्त्री लामाले ऐतिहासिक चुरियामाई सुरुङ्गको संरक्षण गरेर व्यवस्थित गरिनु पर्ने बताए । उनले सुरुङ मार्गको संञ्चालनसंगै संरक्षणमा प्राथामिक्ता साथ काम गर्न आग्रह गरे । सुरुङ सञ्चालनका लागि प्रभावकारी कार्यविधि तयार गरेर लागु गर्न सुझाब मुख्यमन्त्री लामाले सुझाव दिए । उनले सुरुङ सञ्चालनमा थप वृद्धि विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता समेत ब्यक्त गरे ।

सुरुङको साँचो ग्रहण गर्दै नगरप्रमुख लामाले कार्यविधि निर्माण गरेर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।  उनले सरोकारवाला निकायहरुको साथ सहयोग र जागरुकताले सुरुङसंगै मन्दिरको संरक्षण हुने बताइन् ।कार्यक्रममा प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, प्रदेश सभाका सदस्यहरु, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल, प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्के लगायतले चुरियामाई सुरुङ र मन्दिरको बारेमा आफ्नो महत्वपूर्ण मन्तव्य दिएका थिए ।

पर्यटकहरुको लागि प्रवेश खुल्ला, शुल्क तिर्नुपर्ने 
सुरुङ हेटौंडा उपमहानगरपालिकाको अधीनमा आएसँगै पर्यटकहरूका लागि अवलोकनको प्रवेश खुला गरिएको छ। शुल्क तिरेर (टिकट काटेर) मात्र सुरुङमा प्रवेश गर्न पाइनेछ। नेपाली नागरिकलाई ५० रुपैयाँ, विदेशी नागरिकलाई १२० रुपैयाँ र विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क तिर्नु पर्नेछ । पाँच वर्ष मुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुले निःशुल्क सुरुङ मार्गमा प्रवेश पाउने छन् ।

कस्तो थियो सुरुङ, कस्तो बन्यो ?
चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइन अनुसार ५ सय मिटर लम्बाइ, ९ फिट चौडा र १० फिट अग्लो सुरुङ मार्ग बनेको थियो ।

जीर्णोद्धारपछि सुरुङको लम्बाइः २२५ मिटर, चौडाइः २ मिटर ७० सेन्टिमिटर र उचाइः ३ मिटर ३० सेन्टिमिटरको बनेको छ । पुनःनिर्माणमा चुनासुर्की, ढुंगा, कुँदिएका खोपाहरू, सिमेन्ट, बालुवा, फलामे डन्डीको प्रयोग भएको बताईएको छ । सुरुङको मकवानपुरतर्फको प्रवेशद्वारलाई विस्तार गरिएको छ भने बारातर्फको प्रवेशद्वार पुरानै अवस्थामा राखिएको छ । सुरुङ मार्गभित्र विद्युतीय लाइट समेत जडान गरिएको छ ।

ऐतिहासिक महत्व र पुनर्निर्माण
राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इन्जिनियर डिल्लीजंग थापाले निर्माण गरेको यो सुरुङ मार्ग लामो समयदेखि जीर्ण अवस्थामा थियो । मकवानपुरतर्फबाट बारासम्म जोडिने यो सुरुङ त्यसबेलाको साना सवारी साधनहरूको आवागमनका लागि बनाइएको थियो ।

इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसहरुले नै सुरुङ खनिएको थियो ।

सपनामा इन्जिनियर थापाले त्यसै स्थानमा देवी देखेका थिए । पूजाआजा गरेर मात्र सुरुङ खन्नू भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको थियो ।त्यसलाई नै चुरियामाई मन्दिर भन्छिन । यहाँ भारतदेखि नेपालभरका दर्शनार्थी भाकल राखेर दर्शन गर्न आउँछन् ।

सुरुङ निर्माण भएपछि यहाँ बासिन्दाहरू खुशी हुँदै ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी’ बोलको गीतै बनाएका थिए । सुरुङ बनेपछि हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौं जान निकै सहज बनाएको थियो ।

त्यति बेला सुरुङ नभएको भए भीमफेदीसम्म साना र हलुका सवारी साधनहरू आवत–जावत गर्न सक्ने अवस्था थिएन । सुरुङ मार्र्गबाट वि.सं. २०१२ सम्म सवारी चल्ने गरेका थियो । राणाकालीन समयमा यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ओसाथ्र्यो ।

५०० मिटरको सुरुङ २२५ मिटर मात्रै किन ?

सुरुमा चुरिया सुरुङको लम्बाई ५ सय मिटर जीर्णोद्धारपछि सुरुङको लम्बाइ २२५ मिटर मात्रै छ किन ?  प्रश्न उठेकै होला ! विसंं.२००९ सालमा त्रिभुवन राजमार्ग निर्माण सुरु भएको थियो । त्यसै क्रममा  विसं.२०१३ सालमा मोटरबाटो निर्माणको क्रममा सुरुङमार्गको बीच खण्डमा बिस्फोट गराएर भत्काइएको थियो । अथार्त सुरुङ मार्ग भत्काएर सडक बनाइयो । यसै कारण सुरुङको लम्बाई छोट्टिएको हो ।  त्यसपछि सुरुङ पूर्णरुपमा बन्द भएको थियो । 

 विश्वविख्यात भूगर्भविद् डा. हेगेनको पुस्तकमा सुरुङको चर्चा 

यही सुरुङ भएर विश्वविख्यात भूगर्भविद् डा. टोनी हेगेन आफ्नो साना गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौँ लगिएको बताइन्छ । स्वी. भूगर्भविद डा. टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा यो सुरुङ मार्गबारे चर्चा समेत गरेका छन् । उक्त पुस्तकमा मानव निर्मित सुरुङ देखेर आफू आठौँ आश्चर्यमा परेको र नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको भन्दै चर्चा गरेका छन् ।