बाजुरा – रक्तस्रावले बाजुरामा एक सुत्केरी महिलाको ज्यान गएको छ । रक्तस्रावका कारण बुढीगङ्गा नगरपालिका–२, बजेडीकी १७ वर्षीया लक्ष्मी लुहारको बिहीबार राति मृत्यु भएको हो । गर्भजाँच गर्दा लुहारको गर्भमा दुईवटा शिशु रहेका थिए । लुहारले एक छोरीको घरमै जन्म दिनुभएकी थिइन्। अर्को छोरीलाई स्वास्थ्य संस्थामा नै जन्म दिएको बहमतोला स्वास्थ्य चौकीकी अनमी देवकी गौतमले जानकारी दिइन् ।
उनले घरमा जन्म दिएकी छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको छ। स्वास्थ्य चौकी पुगेर लुहारले मृत अवस्थामा छोरीलाई जन्म दिनुभएकी थिइन् । दुई शिशुलाई जन्म दिएपछि रक्तस्रावका कारणले लुहारको मृत्यु भएको स्वास्थ्यकर्मी बताउँछन् ।
शरीरमा रगतको कमी भएकोले थप उपचारका लागि लुहारलाई अछामको बयालपाटा अस्पताल रिफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा लुहारको बाटोमा मृत्यु भएको अनमी गौतमले जानकारी दिइन्। उनका अनुसार लक्ष्मीलाई प्रसूति बेथा लागेको समयमा नै स्वास्थ्य चौकीमा नल्याउँदा मानवीय क्षति भएको हो । प्रसूति बेथा लागे पनि स्वास्थ्य चौकीमा नल्याएर घरमै राखिएकोले समस्या भएको हो ।
मृतक लुहारका श्रीमान् प्रकाश लुहारले बिहान गाईभैंसीलाई घाँस, पराल खुवाएकी श्रीमतीलाई एक्कासि बेथा लागेको तर उपचारका लागि लैजान स्ट्रेचरको खोजी गर्दा ढिलो भएको बताए । एम्बुलेन्स पनि समयमैमा नभेटिंदा उपचारमा ढिलाइ भएको उनको भनाइ छ । रक्तस्रावका कारण सुत्केरी महिलाको मृत्यु भएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले जानकारी दिए ।