ढल्केबर – चोर समात्न धनुषा प्रहरीले नयाँ जुक्ति अपनाएको छ। चोरीका घटनालाई नियन्त्रण गर्न प्रहरी नै चोर बनेर खटिएका छन् । पछिल्लो समय चोरीका घटना बढेपछि चोर समात्न प्रहरी नै चोर बनेर खटिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
यस्तो रणनीतिबाट सफलता मिलेको बताउँदै उनले केही दिनकै प्रयासमा विभिन्न मितिमा विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न ३२ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरी उपरीक्षक खड्काले पत्रकार सम्मेलनको आयोजना गरेर नियन्त्रणमा रहेकालाई चोरी तथा अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको बताए ।
उनले चोर समात्न जिल्लाभरि प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको प्रहरी टोली खटाइएको जानकारी दिए । यसैबिच विभिन्न चोरीका घटनामा सलग्न रहेको आरोपमा बुधबार सात जनालाई पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
पछिल्लो समय चोरीका घटनामा वृद्धि भएपछि धनुषा प्रहरीले एक सूचना सार्वजनिक गर्दै सावधानीका उपाय अपनाउन सर्वसाधारणसमक्ष अनुरोध गरेको छ ।
ठुलो परिमाणमा नगद वा गरगहना घरमा नराख्न, गाउँघरमा शङ्कास्पद व्यक्ति हिँडडुल गरेको देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन, मोटरसाइकल पार्किङ गर्दा अनिवार्य मोटरसाइकल लक गर्न र विवाह, व्रतबन्ध जस्ता समारोहमा जाँदा घरका सबै सदस्य एकै पटक घर बाहिर नजान प्रहरीले अनुरोध गरेको छ ।