हेटौंडा – मकवानपुरको हेटौंडाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा अमलेखगंज घर भई हाल हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौर बस्ने ३८ बर्षीय प्रमेश कुमार श्रेष्ठ र बारा घर भई हाल हेटौंडा–५ लटिनाथ बस्ने ३२ बर्षीय दिप पाण्डे रहेका छन् ।
बिहिवार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ चेकपोष्टस्थित बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना ३ ख ५५९३ नं। को पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक श्रेष्ठ र सहचालक पाण्डेलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उक्त ट्याङकरमा चेकजांच गर्ने क्रममा चालकको सिट पछाडीको क्याबिनको भागमा लुकाई छिपाई ल्याएको अबस्थामा लागुऔषध नाईट्राभेट ४८० ट्याबलेट, प्यीभोन स्पास प्लस ४८० क्यापसुल, डाइलेक्स डिसी १०० एमएलको एक बोतल र सुन जस्तो देखिने पहेलो धातुबाट बनेको टाउकोमा लगाउने चन्द्रमा र तारा १र१ थान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
उक्त लागुऔषध,ट्याङकर सहित दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रवत्ता कार्कीले बताए ।