प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालको शहरी जनसङ्ख्या २७ प्रतिशत

२०८२ असार २०, शुक्रबार १९:४६ बजे

मकवानपुर । नेपालमा शहरी जनसङ्ख्या २७ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ५६ प्रतिशत शहरी जनसङ्ख्या रहेको छ ।

काठमाण्डाै उपत्यकामा ९१ दशमलव ७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् । शहरीकरण प्राय खेतीयोग्य जग्गामा भइरहेको तथ्याङ्कले देखाएको छ ।

सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा शहरीकरणका कारणले घटेको जनसङ्ख्या शाखाका निर्देशक राजन सिलवालले बताउनुभयो । सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला शहरीकरणका सम्भावनाहरू यी प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको उहाँले बताउनुभयो ।

महानगरहरूमा भाडामा बसोवास गर्नेहरूको सङ्ख्या झन्डै ४३ प्रतिशत रहेको छ । गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार सङ्ख्या २ दशमलव ६ प्रतिशतमात्रै रहेका तथ्याङ्कले देखाएको छ ।

यसैबीच इन्टरनेटको पहुँच काठमाण्डाै उपत्यकामा झन्डै ७८ प्रतिशतभन्दा माथि रहेको देखिएको छ । शहरीकरण हुँदै जाँदा व्यक्तिहरूको इन्टरनेटमा पहुँच पनि विस्तार हुँदै गइरहेको तथ्याङ्कले देखाएको सिलवालले बताउनुभयो ।